पोखरा , २६ साउन २०८३।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा सुख्खा पहिरो खस्दा त्यहाँ कार्यरत सुरक्षागार्डको मृत्यु भएको छ।
मंगलबार बिहान विद्युतगृहमा खसेको पहिरोमा परी आयोजनामा सुरक्षागार्डका रूपमा कार्यरत पोखरेबगरका ५५ वर्षीय **दिपक बरुवाल (खेमराज)**को मृत्यु भएको हो।
पहिरोमा पुरिएका बरुवाललाई सुरक्षाकर्मीले सबडोजरको सहायतामा उद्धार गरी बाहिर निकालेका थिए। तर, उनको मृत्यु भएको बताइएको छ।
घटनामा एक जना प्राविधिक घाइते भएका छन् भने अर्का एक प्राविधिकलाई सकुशल उद्धार गरिएको छ।
पहिरोका कारण विद्युतगृहमा जडान गरिएका उपकरणमा समेत क्षति पुगेको छ। उपकरणमा क्षति भएपछि आयोजनाको विद्युत् उत्पादन बन्द भएको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।