रसुवा बिष्फोटमा घाइते भएका दुई सैनिक र भोटेकोसी जलविद्युत आयोजनासँग सम्बन्धित पाँच जनाको खुल्यो पहिचान

रसुवा बिष्फोटमा घाइते भएका दुई सैनिक र भोटेकोसी जलविद्युत आयोजनासँग सम्बन्धित पाँच जनाको खुल्यो पहिचान


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, २५ साउन २०८३
  • 912
    Shares

काठमाडौँ, २५ साउन २०८३।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ मानचेतस्थित नेपाली सेनाको फाइरिङ रेन्जमा विष्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा घाइते भएका दुई सैनिकसहित सात जनाको पहिचान खुलेको छ।

गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेशीस्थित नेपाली सेनाको श्रीनाथ गणको सुरक्षा वेशको बंकरमा लामो समयदेखि भण्डारण गरी राखिएका र विभिन्न आयोजनामा प्रयोग भई खपत अवधि समाप्त भएका काम नलाग्ने विष्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विष्फोट हुँदा घाइते भएका दुई सैनिकसहित सात जनाको पहिचान खुलेको हो। \घाइतेमध्ये नेपाली सेनाका दुई जना र भोटेकोसी जलविद्युत आयोजनासँग सम्बन्धित पाँच जना छन्।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रसुवाका अनुसार उक्त विष्फोटक पदार्थलाई बर्निङ तथा डिमोलिसन विधिबाट डिस्पोज गर्ने क्रममा घटना भएको जनाइएको छ।

नेपाली सेनातर्फ श्रीनाथ गणका अम राजु भण्डारी र एम्युनिसन महाशाखाका प्रा. अम भोजबहादुर सारु घाइते भएका छन्। दुवैको टाउको, हात, खुट्टा तथा अनुहारमा चोट लागेको छ।

त्यस्तै, भोटेकोसी जलविद्युत आयोजनातर्फ मकवानपुरका सविन राना सामान्य घाइते भएका छन्। रसुवाका निमा दोर्जे तामाङको अवस्था मध्यम रहेको बताइएको छ।

आमाछोदिङ्मो गाउँपालिका–४ का सोनाम घलेको टाउको, घाँटी तथा शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको जनाइएको छ।

मकवानपुरको हेटौँडाका आइते पाख्रिन र बैतडीका वीरेन्द्र धामीको कान नसुन्ने समस्या देखिएको छ। उनीहरू दुवैको अवस्था सामान्य रहेको बताइएको छ।

घाइते सबैलाई उपचारका लागि रसुवा अस्पताल धुन्चे पठाइएको छ।

घटनापछि प्रहरी चौकी थाम्बुचेतबाट प्रहरी नायब निरीक्षक धनबहादुर तामाङको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटाइएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।

प्रतिक्रिया