प्रधानमन्त्री बालेन शाह र रवि लामिछानेबीच ५० मिनेट के भयो कुरा ?

प्रधानमन्त्री बालेन शाह र रवि लामिछानेबीच ५० मिनेट के भयो कुरा ?


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, २५ साउन २०८३
  • 532
    Shares

काठमाडौँ, २५ साउन २०८३।

प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ ५० मिनेटसम्म भेटवार्ता भएको छ।

पछिल्लो समय प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच दूरी बढ्दै गएको संकेत देखिएका बेला लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

रविनिकट एक नेताका अनुसार भेटवार्तामा मुख्य रूपमा सरकार र पार्टीबीचको समन्वयका विषयमा छलफल भएको थियो।

पछिल्लो समय विभिन्न विषयमा प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच मतभेद देखिँदै आएका छन्। रवि पक्षले प्रधानमन्त्री शाह सचिवालयको घेरामा सीमित भएको आरोप लगाउँदै आएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि पछिल्लो समय संसदमा प्रधानमन्त्री तथा सरकारको कामकारबाहीको चर्को आलोचना गर्दै आएका छन्। विशेषगरी जनजीविकासँग जोडिएका विषयमा सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको उनीहरूको आरोप छ।

सभापति लामिछानेले समेत सरकारले गडबडी गरे आफूले कानमा समातेर ट्रयाकमा ल्याउने अभिव्यक्ति दिँदै आएका छन्।

उता, रास्वपाका सांसदहरूबाट सरकारको आलोचना भइरहेकामा प्रधानमन्त्री शाह पक्ष असन्तुष्ट रहेको बताइन्छ। गत शुक्रबार राति प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू ‘एक्लिएको’ संकेत गरेका थिए।

यस्तो पृष्ठभूमिमा भएको प्रधानमन्त्री शाह र लामिछानेबीचको पछिल्लो भेटलाई पार्टी र सरकारबीच बढ्दै गएको दूरी तथा तिक्तता कम गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया