सम्पर्कविहीन कपिलवस्तुका पूर्वमेयर किरण सिंह तीन दिनपछि जंगलमा मृत भेटिए

सम्पर्कविहीन कपिलवस्तुका पूर्वमेयर किरण सिंह तीन दिनपछि जंगलमा मृत भेटिए


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, २४ साउन २०८३
  • 1K
    Shares

काठमाडौँ, २४ साउन २०८३

तीन दिनदेखि समपर्कबिहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिएका छन्।

शुक्रबारदेखि सम्पर्कविहीन भएका पूर्वमेयर सिंहलाई तालिमप्राप्त कुकुरसहिटको सुरक्षाकर्मीहरुको टोलीले आज गोरुसिङ्घे जंगल क्षेत्रमा मृत भेत्ताएका हुन्।

सम्पर्कबिहीन पूर्वमेयर ६५ वर्षीय किरण सिंहको खोजीका लागि निरन्तर रुपमा ठुलो मात्रामा सुरक्षाकर्मी , स्थानिय बासिन्दाहरु निरन्तर रुपमा लागेका थिए। सिंह सवार लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र जंगल क्षेत्रमा रोकिराखेको अवस्थामा फेला परेको थियो। मोटरसाइकल भेटिएपछि प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा उनको खोजी शुरु गरेको थियो।

खोजीका लागि तालिमप्राप्त कुकुरसहित ८० भन्दा बढी प्रहरी परिचालन गरिएको थियो। प्रहरी र स्थानीय गरी १०० भन्दा बढी व्यक्ति खोजीमा खटिएका थिए।

प्रहरीका अनुसार सिंह शुक्रबार बिहान कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निर्माणाधीन कृषि फार्ममा जाने भन्दै मोटरसाइकलमा निस्किएका थिए। उनले गोरुसिङ्गे जंगल क्षेत्रमा माछापोखरी तथा कुखुरापालनका लागि फार्म निर्माण गरिरहेका थिए।

फार्मतर्फ जाने क्रममा बाटो भुलेर जंगलको अन्य क्षेत्रमा पुगेको हुन सक्ने प्रहरीको प्रारम्भिक आकलन थियो। सोही आधारमा प्रहरीले जंगलका सम्भावित क्षेत्रमा खोजी तीव्र बनाएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया