प्रधानमन्त्री शाहले भारतीय राजदुत श्रीवास्तव भेटे लगत्तै चिनियाँ राजदूत माओमिङलाई भेट्ने तयारी

प्रधानमन्त्री शाहले भारतीय राजदुत श्रीवास्तव भेटे लगत्तै चिनियाँ राजदूत माओमिङलाई भेट्ने तयारी


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, २४ साउन २०८३
  • 665
    Shares

काठमाडौँ, २४ साउन २०८३ .

प्रधानमन्त्री बालेन शाहले भारतीय राजदुत नबिन श्रीवास्तव भेटे लगत्तै चिनियाँ राजदूत चाङ माओमिङलाई भेट्ने तयारीमा लागेका छन्।

प्रधानमन्त्री शाहले सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तव र अपराह्न ३ बजे चिनियाँ राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि शाहले नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। चैत २५ गते भएको उक्त भेटमा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

प्रधानमन्त्री शाहले यसअघि विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेटवार्ता नगर्ने योजना बनाएका थिए। तर, पछिल्लो पटक उनले असार २३ गते एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक्लाएक्लै भेटवार्ता गरेका थिए।

उक्त भेटमा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार विकास लगायतका विषयमा छलफल भएको थियो। एडीबी अध्यक्षसँगको भेटपछि प्रधानमन्त्री शाहले पहिलोपटक नेपालका दुई प्रमुख छिमेकी मुलुकका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन्।

भारतीय र चिनियाँ राजदूतसँग हुने भेटमा नेपाल–भारत तथा नेपाल–चीन सम्बन्ध र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया