पोखरा , २४ साउन २०८३
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा संलग्न भएको आशंकामा चार जना पक्राउ परेको भन्दै तस्बिरहरु सार्वजनिक भएका छन्। सार्वजनिक दुई वटा फोटोमध्ये एउटामा तीन जना र अर्कोमा एकजनालाई प्रहरीले पक्राउ गरेको प्रष्ट देखिएको छ।
प्रहरीले पक्राउ गरिएका अभियुक्तहरु बारे हालसम्म केही बोलिसकेको छैन । तर स्थानीय बासिन्दाहरुलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार , नेपाल–भारत सीमा पार गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा हदिश मियाँका कान्छा छोरा कादिर मियाँ, ताहिर मियाँका भाइ तथा जाहिर मियाँका छोरा, अबुल मियाँका कान्छा छोरा र नाम नखुलेका एक जना रहेका छन्।
यस्तै, घटनामा संलग्न हुन सक्ने आशंका गरिएका दुई जना भने पक्राउबाट जोगिँदै भाग्न सफल भएको बताइएको छ। भाग्नेमा अबुल मियाँ र नाम नखुलेका अर्का एक जना रहेको प्रारम्भिक विवरण छ।
यद्यपि पक्राउ परेका व्यक्तिहरू गोलीकाण्डमा वास्तवमै संलग्न भए–नभएकोबारे आधिकारिक पुष्टि हुन बाँकी छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र पक्राउ परेकाहरूको संलग्नताबारे अनुसन्धानपछि मात्रै स्पष्ट हुने बताइएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।
स्रोत : नाम खुलाउन नचाहने प्रत्यक्षदर्शी तथा कप्तानगञ्जका स्थानीयवासी