सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ

सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, २४ साउन २०८३
  • 684
    Shares

सल्यान, २४ साउन २०८३ .

सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा सँगै शिकार खेल्न गएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको हो।

प्रहरीका अनुसार साथीहरूसँगै शिकार खेल्न जंगल पुगेका पुन मगरको पेटको तल्लो भाग र कम्मरमा गोली लागेको थियो। गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कालिमाटीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न भएको आशंकामा सँगै शिकार खेल्न गएका ६ जनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा, ५९ वर्षीय कुलबहादुर बुढाथोकी र कालिमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगर रहेका छन्।

घटनामा प्रयोग भएको भरुवा बन्दुक तथा गोली चलेको अवस्थाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया