नेपालगञ्ज, २२ साउन २०८३।
समस्याग्रस्त घोषित कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहसहित तीन जनालाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार पक्राउ पर्नेमा बैंकका सीईओ निरजविक्रम शाह, नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ३९ वर्षीया दीपा थापा र सोही स्थानकी ४३ वर्षीया सुभेच्छा श्रेष्ठ रहेका छन्। शाहको स्थायी ठेगाना पनि नेपालगञ्ज–१२ नै रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरू बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेकाले पक्राउ गरिएको हो। पक्राउपछि शुक्रबार नै उनीहरूलाई थप कानुनी कारबाहीका लागि उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलासमा उपस्थित गराइएको छ।
कर्णाली विकास बैंकमा वित्तीय अनियमितता तथा संस्थाको बिग्रँदो अवस्थाका कारण नेपाल राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै आफ्नो प्रत्यक्ष व्यवस्थापनमा लिएको थियो। त्यसपछि राष्ट्र बैंकले नियुक्त गरेको व्यवस्थापन समूहका सदस्य जुगल किशोर कुशवाहाले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
प्रारम्भिक चरणमा पक्राउ नगरी अनुसन्धान गरिएको भए पनि अनुसन्धानका क्रममा पर्याप्त आधार र प्रमाण संकलन भएपछि उनीहरूलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।