रुकुमपश्चिम, २२ साउन २०८३।
रुकुमपश्चिममा थुनुवा बोकेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
दुर्घटना बिहीबार साँझ मुसीकोट नगरपालिका–८ ताउनेस्थित मध्यपहाडी राजमार्गमा भएको हो। जिल्ला कारागार कार्यालय रुकुमपश्चिमको बा.प्र. ०३००१ च ३९५६ नम्बरको भ्यानले विपरीत दिशाबाट आउँदै गरेको क.प्र. ०३००१ प ०७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डीएसपी बेदबहादुर पौडेलका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार आठबिसकोट नगरपालिका–७ का २१ वर्षीय निवास बोहराको मृत्यु भएको हो। मोटरसाइकलमा रहेका आठबिसकोट नगरपालिका–१० का १८ वर्षीय गणेश शाही गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिल्ला कारागार कार्यालय रुकुमपश्चिमबाट थुनुवा बन्दीलाई साक्षी बयानका लागि रुकुमपूर्वस्थित रुकुमकोट जिल्ला अदालतमा उपस्थित गराएर रुकुमपश्चिम फर्किने क्रममा उक्त दुर्घटना भएको हो।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।