काठमाडौं, १८ साउन २०८३ ।
पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा स्थानीयवासी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच सोमबार हुने भनिएको छलफल स्थगित भएको छ ।
आइतबार अस्थायी बाँध निर्माणको विषयलाई लिएर दुई पक्षबीच तनाव उत्पन्न भएपछि सोमबार छलफल गर्ने सहमति भएको थियो । तर, एसएसबीका एक जवानलाई सर्पले डसेपछि उपचारमा खटिनुपरेको भन्दै भारतीय पक्षले छलफलमा सहभागी हुन नसक्ने जानकारी गराएपछि आजको दुई पक्षीय छलफल स्थगित भएको हो।
सुस्ता बचाउ अभियानका संयोजक तथा सुस्ता गाउँपालिका–५ का वडा सदस्य आदम खाँका अनुसार एसएसबीका कमान्डरले फोनमार्फत जवानलाई सर्पले डसेपछि उपचारका लागि जानुपरेको र सोमबारको छलफल स्थगित गर्नुपरेको जानकारी दिएका थिए ।
खाँका अनुसार भारतीय पक्षले आइतबार आफूहरूले चिनो लगाएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न मौखिक सहमति जनाएको छ । सोही सहमतिअनुसार स्थानीयवासीले चिनो लगाइएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न सक्ने उनले बताए ।
‘भारतीय पक्षले हिजो चिनो लगाएको ठाउँसम्म अस्थायी बाँध बनाउन मौखिक सहमति दिएको छ,’ खाँले भने, ‘अब दुवै पक्षको समय मिलाएर छलफल गर्ने सहमति भएको छ ।’
यसअघि आइतबार भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोपपछि सुस्ता क्षेत्रमा तनाव उत्पन्न भएको थियो । दिउँसो करिब ३ बजे उत्पन्न तनाव केही समयपछि साम्य भएको थियो ।
अस्थायी बाँध निर्माणको विषयमा देखिएको विवाद समाधानका लागि दुवै पक्षबीच छलफल गर्ने सहमति भए पनि एसएसबी जवानलाई सर्पले डसेपछि सोमबारको निर्धारित छलफल भने स्थगित भएको हो।