राहदानीसम्बन्धी कसुरमा परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

राहदानीसम्बन्धी कसुरमा परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ


  • जनसञ्चार डटकम समाचारदाता
  • सोमबार, १८ साउन २०८३
  • 855
    Shares

Pushparaj bhattarai : परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं, १८ साउन २०८३  राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भट्टराईलाई सोमबार कागेश्वरी मनहरा क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले पुष्टि गरेका छन् ।

सीआईबीका अनुसार नेपालबाट शरणार्थीलाई तेस्रो मुलुक जान अनुमति दिने प्रक्रियामा भट्टराईको प्रत्यक्ष संलग्नता देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । उक्त प्रक्रियामा सरकारी निकायबाट भएका निर्णय, कागजात तथा स्वीकृतिको विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको बताइएको छ ।

भट्टराईमाथि राहदानीसम्बन्धी कानुन उल्लंघन भएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । अनुसन्धानका क्रममा उनको भूमिकाका साथै शरणार्थीलाई तेस्रो मुलुक पठाउने प्रक्रियामा संलग्न अन्य व्यक्ति तथा निकायको भूमिकासमेत अध्ययन गरिने प्रहरीले जनाएको छ ।

पक्राउ परेका भट्टराईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान अघि बढाइने सीआईबीको भनाइ छ । यद्यपि, उनीमाथि लागेको आरोप पुष्टि हुन बाँकी छ । प्रहरीले अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा थप प्रक्रिया अघि बढाउने जनाएको छ ।

घटनाबारे परराष्ट्र मन्त्रालयको औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन । अनुसन्धान अघि बढ्दै जाँदा यस प्रकरणमा थप व्यक्ति वा अधिकारीसमेत अनुसन्धानको दायरामा आउन सक्ने प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया