काठमाडौं , १८ साउन २०८३ ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपाली पक्षले निर्माण गरिरहेको अस्थायी बाँध भारतीय पक्षबाट भत्काइएपछि उत्पन्न विवाद समाधान गर्न नेपाल र भारतका स्थानीय प्रतिनिधि तथा सम्बन्धित पक्षबीच आज छलफल हुँदैछ ।
वर्षायाममा आउने पानीको भेल रोक्न नेपाली पक्षले निर्माण थालेको माटोको अस्थायी बाँध भारतीय सुरक्षाकर्मीको उपस्थितिमा आएको टोलीले भत्काएपछि आइतबार सुस्तामा तनाव उत्पन्न भएको थियो। घटनाका क्रममा स्थानीयवासी र भारतीय पक्षबीच प्रतिकार हुँदा तीन नेपाली घाइते भएको स्थानीयले बताएका छन्।
सुस्ता बचाउ अभियानका संयोजक तथा सुस्ता गाउँपालिका–५ का वडा सदस्य आदम खानका अनुसार अहिले घटनास्थलको अवस्था सामान्य बनेको छ। विवादलाई थप बढ्न नदिन दुवै पक्षबीच सोमबार छलफल गर्ने सहमति भएको उनले बताए।
एकसय ३२ मिटर क्षेत्रमा बाँध निर्माण
स्थानीयका अनुसार सुस्ता–५ स्थित थारु टोलमा वर्षायाममा आउने पानीको भेल रोक्न शनिबारदेखि नेपाली पक्षले माटो राखेर करिब एकसय ३२ मिटर लामो अस्थायी बाँध निर्माण गर्न थालेको थियो।
स्थानीयका अनुसार उक्त क्षेत्रमा बाँध निर्माणका विषयमा यसअघि पनि भारतीय पक्षले असहमति जनाउँदै आएको थियो। सहमतिअनुसार पानीको भेल नियन्त्रण गर्न नेपाली पक्षले माटो राखेर अस्थायी बाँध निर्माण सुरु गरे पनि आइतबार भारतीय पक्ष आएर बाँध भत्काएपछि विवाद भएको हो।
खानका अनुसार भारतीय पक्षले सुरुदेखि नै उक्त क्षेत्रमा बाँध निर्माण गर्न अवरोध गर्दै आएको थियो। नेपाली पक्षले वर्षाको पानीको भेल रोक्न सहमतिअनुसार काम अघि बढाइरहेका बेला सादा पोसाकमा रहेका भारतीय एसएसबीका सुरक्षाकर्मी हतियारसहित नेपाली भूमिमा प्रवेश गरेको स्थानीयको आरोप छ।
भारतीय पक्षले निर्माणाधीन माटोको बाँध भत्काएपछि स्थानीयवासीले प्रतिकार गरेका थिए। त्यसक्रममा तीन नेपाली घाइते भएको स्थानीयको भनाइ छ।
असारमा पनि रोकिएको थियो बाँध निर्माण
सुस्ता क्षेत्रमा बाँध निर्माणलाई लिएर यसअघि पनि विवाद हुँदै आएको छ। गत असारमा समेत भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माणको काम रोक्न दबाब दिएपछि नेपाली पक्षले निर्माण कार्य रोकेको स्थानीयले बताएका छन्।
वर्षायाममा पानीको भेलका कारण सुस्ता क्षेत्रका बस्ती तथा खेतीयोग्य जमिन प्रभावित हुने भएकाले स्थानीयवासीले पानीको बहाव नियन्त्रणका लागि अस्थायी संरचना निर्माण गर्न थालेको बताइएको छ।
प्रशासनले पनि विवाद भएको पुष्टि गर्यो
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले वर्षाको भेल रोक्न निर्माण गरिएको माटोको अस्थायी बाँधका विषयमा विवाद भएको पुष्टि गरेका छन्।
घटनापछि सुरक्षा निकाय परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको र अहिले अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ।
सुस्ता नेपाल–भारतबीच लामो समयदेखि सीमा विवादसँग जोडिँदै आएको क्षेत्र हो। सीमा क्षेत्रमा निर्माण हुने संरचना, नारायणी नदीको धार परिवर्तन तथा सीमासम्बन्धी विषयलाई लिएर यहाँ पटक–पटक विवाद हुँदै आएको छ।
आइतबारको घटनापछि थप तनाव हुन नदिन दुवै पक्षबीच सोमबार हुने भनिएको छलफललाई स्थानीयले महत्वपूर्ण रूपमा हेरेका छन्। छलफलमा बाँध निर्माणको विषय, पानीको भेल नियन्त्रण तथा सीमा क्षेत्रमा सुरक्षाकर्मीको आवतजावत लगायतका विषय उठ्ने अपेक्षा गरिएको छ।