काठमाडौं , १८ साउन २०८३ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले पेट्रोल, डिजेल/मट्टितेल तथा आन्तरिक हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो ।
निगमका अनुसार भारतीय आयल कर्पोरेशन (आईओसी) बाट २०८२ साउन १५ गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा सञ्चालक समितिले मूल्य समायोजन गर्ने निर्णय गरेको हो । नयाँ मूल्य आज राति १२:०१ बजेदेखि लागू हुनेछ ।
मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ ।
मूल्य समायोजनसँगै काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल तथा डिजेलको खुद्रा मूल्य प्रतिलिटर २ सय रुपैयाँ कायम भएको छ । सुर्खेत र दाङमा भने प्रतिलिटर १ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल तथा डिजेलको मूल्य प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ ।
यद्यपि, एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन । निगमले ग्यासको मूल्य हालकै अवस्थामा यथावत् राखेको जनाएको छ ।
