कुवेतमा भएको मिसाइल आक्रमणमा ज्यान गुमाएका तामाङको शव नेपाल आइपुग्यो

कुवेतमा भएको मिसाइल आक्रमणमा ज्यान गुमाएका तामाङको शव नेपाल आइपुग्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ साउन २०८३
  • 1.5K
    Shares

काठमाडौं , १७ साउन २०८३ ।

कुवेतमा भएको मिसाइल आक्रमणमा परी ज्यान गुमाएका नेपाली कामदार सोमकुमार तामाङको पार्थिव शरीर आइतबार बिहान नेपाल आइपुगेको छ। ४४ वर्षीय तामाङको शव कुवेत एयरवेजको उडानमार्फत मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

तेह्रथुम जिल्लाका तामाङ सन् २०२२ देखि कुवेतमा चालकका रूपमा कार्यरत थिए। गत बिहीबार उत्तरी कुवेतस्थित एक चिनियाँ कम्पनीको भवनमा इरानी मिसाइल प्रहार हुँदा उनको मृत्यु भएको थियो।

पश्चिम एसियामा पछिल्लो समय चर्किएको द्वन्द्वका क्रममा ज्यान गुमाउने उनी दोस्रो नेपाली कामदार भएको जनाइएको छ।

तामाङको शव स्वदेश ल्याउन कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरेको थियो। राजदूतावासको पहलमा अन्तिम संस्कारका लागि शव नेपाल पठाउने प्रक्रिया पूरा गरिएको हो।

मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको तामाङको शव आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने तयारी गरिएको छ।

प्रतिक्रिया