धनुषा, १७ साउन २०८३।
सरकार र हिन्दु सम्राट सेना नेपालबीच सहमति भएको समाचारहरु सार्वजनिक भैरहेका बेला हिन्दु सम्राट सेना नेपालले सरकारसँग औपचारिक सहमति नभएको भन्दै यसअघि घोषणा गरिएका बन्दसहितका आन्दोलनका कार्यक्रम यथावत् रहने स्पष्ट पारेको छ।
शनिबार धनुषा जिल्ला प्रशासन कार्यालयमा सरकार र हिन्दुवादी संगठनबीच भएको वार्तापछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सहमति भएको जानकारी दिएका थिए। तर, हिन्दु सम्राट सेना नेपालले भने आफूहरूले सरकारसमक्ष बुझाएको १५ बुँदे मागपत्रलाई नै सहमति भएको भन्दै प्रचार गरिएको दाबी गरेको छ।
हिन्दु सम्राट सेना नेपालका महासचिव राकेश सनातनीले आफूहरूले बुझाएको मागपत्रलाई सहमति भएको भनेर प्रचार गरिए पनि कुनै सहमति नभएको बताए।
‘हामीले बुझाएको मागपत्रलाई नै सहमति भएको भनेर प्रचार गरियो। कुनै सहमति भएको छैन। त्यसैले बन्दका कार्यक्रम फिर्ता हुँदैनन्,’ सनातनीले भने।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेता तथा कार्यकर्ताले समेत सहमति भएको भन्दै गलत प्रचार गरेको आरोप लगाए।
यता, वार्तामा सहभागी गृहमन्त्री सुधन गुरुङले भने सरकार र हिन्दुवादी संगठनबीच सहमति भएको वा नभएको विषयमा स्पष्ट प्रतिक्रिया दिएका छैनन्। उनले देशमा कुनै पनि प्रकारको धार्मिक द्वन्द्व हुन नहुने बताएका छन्।
सरकार र संयुक्त हिन्दु मोर्चाबीच शनिबार दुई चरणमा वार्ता भएको थियो। पहिलो चरणको वार्ता दिउँसो २ः३० बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो। त्यसपछि राति ८ बजेदेखि १० बजेसम्म मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको उपस्थितिमा दोस्रो चरणको वार्ता भएको थियो।
दुवै चरणको वार्ता सम्पन्न भए पनि औपचारिक सहमतिपत्रमा हस्ताक्षर नभएको हिन्दु सम्राट सेना नेपालले जनाएको छ। प्रमुख जिल्ला अधिकारीले भने वार्ताबाट सहमति भएको बताएका छन्।
यससँगै वार्ताको परिणामबारे सरकारी पक्ष र हिन्दु सम्राट सेना नेपालको भनाइ बाझिएको छ। संगठनले सहमति नभएको दाबी गर्दै आन्दोलनका पूर्वघोषित कार्यक्रम फिर्ता नलिने स्पष्ट पारेको छ।