काठमाडौं, १६ साउन २०८३ ।
जनकपुरमा नेपाल सरकार र आन्दोलनरत हिन्दुवादी मोर्चाबीच १३ बुँदे मागका विषयमा सहमति भएको छ ।
शनिबार भएको दुई चरणको वार्तापछि दुवै पक्षबीच सहमति जुटेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जानकारी दिए ।
वार्ताका क्रममा आन्दोलनरत पक्षले हिन्दू राष्ट्र कायम गर्नुपर्नेसहित १३ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको थियो । ती मागका विषयमा नेपाल सरकारले आवश्यक प्रक्रिया अघि बढाउने गरी सहमति भएको झाले बताए ।
१३ बुँदे मागमध्ये हिन्दू राष्ट्र कायम गर्ने विषयमा थप छलफल आवश्यक रहेको भन्दै त्यसका लागि सरकारलाई तीन महिनाको समय दिइएको बताइएको छ ।
सुनसरीमा भएको घटनापछि मधेश प्रदेशमा उत्पन्न तनावलाई कम गर्दै आपसी शान्ति, सद्भाव र सहिष्णुता कायम गर्ने उद्देश्यले सरकार र आन्दोलनरत पक्षबीच वार्ता भएको हो ।
वार्तामा नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङसहित मधेश प्रदेश सरकार तथा स्थानीय सरकारका प्रतिनिधिहरूको सहभागिता थियो ।
यसअघि शनिबार दिउँसो पहिलो चरणमा समेत वार्ता भएको थियो । उक्त वार्तामा आन्दोलनरत पक्षले आफ्ना १३ बुँदे माग सरकारसमक्ष राखेको थियो । पहिलो चरणको छलफलपछि पुनः वार्ता गरी सहमतिको प्रयास गरिएको थियो ।
दुई चरणको छलफलपछि दुवै पक्षबीच सहमति जुटेसँगै मधेशमा पछिल्लो समय देखिएको तनाव कम हुने अपेक्षा गरिएको छ ।