काठमाडौं, १६ साउन २०८३।
पाकिस्तानको ब्रड पिकको हिमपहिरोमा बेपत्ता भएका विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । उनीसँगै गएका अन्य २ आरोहीको पनि निधन भएको छ ।
निर्मल पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेड उनको मृत्यु भएको जानकारी गराएको छ । उक्त पेजले भनेको छ, ‘आज हामी अत्यन्त दुःख र गहिरो पीडाका साथ पुष्टि गर्न बाध्य भएका छौँ कि ब्रड पिकमा गएको हिमपहिरोमा परी निर्मल ‘निम्सदाइ’ पुर्जाले दुःखद रूपमा ज्यान गुमाउनुभएको छ । हामीले उक्त अभियानका अन्य सदस्यहरूले पनि दुःखद रूपमा ज्यान गुमाएको खबर प्राप्त गरेका छौँ ।’
निम्सदाइको निधनको पुष्टि गर्दै जारी गरिएको वक्तव्यमा उनका विश्वासिला आरोहण सहयात्री तथा गाइड पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाले समेत ज्यान गुमाएको उल्लेख छ।
८,०४७ मिटर अग्लो उक्त हिमाल आरोहण गर्न गएका विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा सहित १० जना हिपहिरोमा परी बेपत्ता भएका थिए । उक्त हिमपहिरोमा नेपालका निर्मल पुर्जा (निम्स दाई), पुरबहादुर गुरुङ, (युक्ता), किली पेम्बा शेर्पा (किलु), निमा शेर्पा, नवाङ थिन्दु शेर्पा, ओमानका नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चिनका वाङ जोङ र अमेरिकाका मेलोरी गिस बेपत्ता भएका थिए । शुक्रबार ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, नेपालका पुरबहादुर गुरुङ र अमेरिकी आरोही म्यालोरी गेइसको शव फेला परेको थियो । अन्य आरोहीहरू किली पेम्बा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पाको अवस्था अझै अज्ञात छ ।