सिरहा घटनामा ज्यान गुमाएका गणेश यादवको घरमा मध्यरातमा पुगे गृहमन्त्री गुरुङ : भयो सरकार र परिवारबीच सातबुँदे सहमति

सिरहा घटनामा ज्यान गुमाएका गणेश यादवको घरमा मध्यरातमा पुगे गृहमन्त्री गुरुङ : भयो सरकार र परिवारबीच सातबुँदे सहमति


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, १६ साउन २०८३
  • 1.1K
    Shares

सिरहा, १५ साउन २०८३।

सिरहाको औरही गाउँपालिका–२, मोतिपुरमा साउन १४ गते भएको घटनामा मृत्यु भएका गणेश यादवका परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति भएको छ।

शुक्रबार भएको सम्झौताअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

सम्झौतामा घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने, मृतकका परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा छानबिन समितिको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्ने उल्लेख छ।

यस्तै, स्थानीय सरकारसँगको समन्वयमा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने, मृतकका भाइ–बहिनीको निःशुल्क शिक्षाको व्यवस्था मिलाउने र परिवारका सदस्यको सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध गर्ने सहमति पनि भएको छ।

सम्झौतामा मृतकका अभिभावक रामवृक्ष यादव र नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्। मृतकको अन्त्येष्टि साउन १६ गते गर्ने सहमति पनि भएको छ।

प्रतिक्रिया