काठमाडौं, १६ साउन २०८३।
पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०५१ मिटर अग्लो ब्रड पिक हिमालमा हिमपहिरोकाकारण बेपत्ता भएका १० जना पर्वतारोहीमध्ये एक नेपालीसहित तीन जनाको शब हेलिकप्टरबाट उठाइएको छ।
हालसम्म नेपाली आरोही पुरबहादुर गुरुङ, ओमनका नादिरा अहमद अब्दुल्लाह अल हार्थी र अमेरिकी आरोही म्यालोरी गाइसको शव हेलिकप्टरबाट उठाईएको हो।
बिहीबार बिहान दोस्रो र तेस्रो शिविरबीच करिब ७,६०० मिटर उचाइमा हिमपहिरो जाँदा ६ नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए । पाकिस्तानी सेना, हेलिकोप्टर, ड्रोन तथा स्थलमार्गबाट खोजी तथा उद्धार अभियान जारी रहे पनि अन्य आरोहीको अवस्था अझै खुल्न सकेको छैन।
घटनापछि नेपाल सरकार, पाकिस्तानस्थित नेपाली दूतावास तथा सम्बन्धित निकायले समन्वय गरिरहेका छन् भने नेपाली आरोहण कम्पनीहरूले उद्धार अभियानलाई तीव्र बनाएका छन्। दुर्घटनापछि सेभेन समिट ट्रेक्सले ब्रड पिक र के–टुका बाँकी आरोहण अभियान स्थगित गरेको जनाएको छ।
हिमपहिरोमा परी चर्चित आरोही पुरबहादुर गुरुङको निधन
पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी गोरखा, धार्चे गाउँपालिका–४ लाप्राकका ३८ वर्षीय अनुभवी पर्वतारोही पुरबहादुर गुरुङको निधन भएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा १० पटक र आठ हजार मिटरभन्दा अग्ला विभिन्न हिमाल २८ पटक सफलतापूर्वक आरोहण गरिसकेका गुरुङको आकस्मिक निधनको खबरले जन्मथलो लाप्राकसहित समग्र गोरखा जिल्ला शोकमा डुबेको छ।
लामो समयदेखि अन्तर्राष्ट्रिय हिमाल आरोहण अभियानमा सक्रिय रहँदै आएका गुरुङले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान पुर्याएका थिए। पर्वतारोहणका साथै उनी सामाजिक सेवामा पनि उत्तिकै समर्पित थिए। उनले लाप्राक तथा गोरखाका विपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति, विद्यार्थी र सामाजिक संस्थालाई नियमित रूपमा सहयोग गर्दै आएको धार्चे–४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिएका छन्।
पारिवारिक स्रोतका अनुसार विगत एक महिनादेखि पाकिस्तानमा रहेका गुरुङ बिहीबार बेलुकासम्म परिवारको सम्पर्कमा थिए। हिमपहिरोमा परेका गुरुङको शव पहिचान भइसकेको र कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी भइरहेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका प्रशासक शोभित कुँवरले बताएका छन्। २०४५ सालमा जन्मेका गुरुङका श्रीमती, एक छोरा र आमाबुबा छन्।