ब्रड पिक हिमपहिरो अपडेट: उद्धार टोलीले चार शव फेला पार्‍यो, राष्ट्रियता अझै खुल्न बाँकी

ब्रड पिक हिमपहिरो अपडेट: उद्धार टोलीले चार शव फेला पार्‍यो, राष्ट्रियता अझै खुल्न बाँकी


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, १५ साउन २०८३
  • 836
    Shares

काठमाडौं, १५ साउन २०८३।

पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको हिमपहिरोपछि उद्धारमा खटिएको स्थल टोलीले चार जना पर्वतारोहीको शव फेला पारेको छ। तर ती शव कसका हुन् भन्ने विषयमा अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन।

पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै हालसम्म चारवटा शव फेला परेको तर उनीहरूको राष्ट्रियता अझै पुष्टि हुन बाँकी रहेको बताएका छन्। उनले हेलिकप्टर र स्थल उद्धार टोलीले प्रतिकूल भौगोलिक अवस्थाबीच पनि खोज तथा उद्धार अभियान निरन्तर जारी राखेको उल्लेख गर्दै बेपत्ता सबै आरोही सकुशल भेटिने आशा व्यक्त गरेका छन्।

यसैबीच, पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानले पनि स्थल उद्धार टोलीले चार शव बरामद गरेको जानकारी दिएका छन्। उनले इन्स्टाग्राममार्फत उक्त विवरण सार्वजनिक गरे पनि शवको पहिचान र आधिकारिक पुष्टि सम्बन्धित निकायबाट हुन बाँकी रहेको स्पष्ट पारेका छन्।

ब्रड पिकमा गएको भीषण हिमपहिरोपछि नेपाली मूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित १० जना आरोही सम्पर्कविहीन छन्। बेपत्तामध्ये ६ जना नेपाली रहेको प्रारम्भिक विवरण छ।

पाकिस्तानको ब्रड पिक हिमपहिरोमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) र पाकिस्तानी आरोही सोहेल साखीसहित १० जना आरोही बेपत्ता भइरहेका छन्। 

पाकिस्तानको अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) का अनुसार बेपत्ता हुनेमा ६ जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ आरोही रहेका छन्।

बेपत्ता हुने नेपाली आरोहीहरूमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, नीमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा छन्। 

अन्य बेपत्ता आरोहीहरूमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ तथा अमेरिकाकी म्यालोरी गाइस रहेका छन्।

सम्पर्कविहीन आरोहीहरूको खोजीका लागि पाकिस्तानी सेनाको हेलिकप्टर, उच्च हिमाली उद्धार टोली तथा अन्य सम्बन्धित निकाय परिचालन गरिएको छ। प्रतिकूल मौसम, उच्च हिमाली भूगोल र हिमपहिरोले उद्धार अभियान चुनौतीपूर्ण बने पनि खोजी कार्यलाई तीव्रता दिइएको अधिकारीहरूले बताएका छन्।

उद्धार अभियान जारी रहेकाले मृतकको पहिचान, बेपत्ता आरोहीहरूको अवस्था तथा घटनासम्बन्धी थप आधिकारिक विवरण आउन बाँकी छ। जनसञ्चारले यस घटनासम्बन्धी थप पुष्टि भएका विवरण प्राप्त हुनासाथ अद्यावधिक जानकारी सार्वजनिक गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार