जनकपुरधाम, १५ साउन २०८३।
सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक बन्दै गएपछि त्यसको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ। बिग्रँदो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मधेशका चार जिल्लामा जारी कर्फ्यु आदेश आज पनि यथावत् राखिएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहा, धनुषा, पर्सा र सप्तरीले जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा लागू गरिएको कर्फ्यु आदेशलाई निरन्तरता दिएका हुन्। प्रशासनका अनुसार धार्मिक तथा साम्प्रदायिक तनाव अझै पूर्ण रूपमा नियन्त्रणमा नआएकाले कर्फ्यु कायमै राख्ने निर्णय गरिएको हो।
हिजो सिरहाको गोलबजारबाट सुरु भएको हिंसात्मक घटनाले विभिन्न स्थानमा तोडफोड, आगजनी, लुटपाट तथा झडपका घटना निम्त्याएको सुरक्षा निकायले जनाएको छ। घटनाका क्रममा हालसम्म मधेश प्रदेशमा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्।
घाइतेमध्ये नेपाल प्रहरीका दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित २२ जना प्रहरी कर्मचारी रहेको सुरक्षा स्रोतले जनाएको छ। अन्य घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।