स्याङ्जा, ३२ असार २०८३।
स्याङ्जामा एकाबिहानै गोठ भत्किँदा एक जनाको मृत्यु भएकाे छ ।
पिढीखोला गाउँपालिकाकाे पातिखर्कमा शुक्रबार बिहान करिब ५:१५ बजे भैंसीलाई कुँडो (आहार) दिन गोठमा गएका बेला एक्कासि गोठ भत्किएर पुरिएका स्थानीय ६५ वर्षीय धनबहादुर रेश्मी मगरकाे मृत्यु भएको हाे ।
स्थानीयका अनुसार गोठ भत्किँदा धनबहादुरसँगै गोठमा रहेका भैंसी र बंगुर पनि पुरिएका थिए। घटनालगत्तै स्थानीयवासीले उद्धार गरी मगरलाई गोठबाट बाहिर निकाले पनि उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान शुरु गरेको छ। गोठ भत्किनुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीका अनुसार गोठ पुरानो भएकाले भत्किएको हुन सक्ने अनुमान गरिएको भए पनि यसको यथार्थ कारण अनुसन्धानपछि मात्रै खुल्नेछ।