पोखरा, ३२ असार २०८३।
सुनका गरगहना लुट्रन ५७ वर्षीय एक ब्यक्तिकाे हत्या गरेकाे आरोपमा लमजुङमा दुइ जना पक्राउ परेका छन् ।
लमजुङको बेसीशहर नगरपालिका–८ तामाङटोलका ५७ वर्षीय बुद्धि बहादुर बोहराले लगाएकाे सुनको सिक्री र सुनको औँठी लुट्न उनकाे हत्या गरेकाे आरोपमा लमजुङमा दुइ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बोहरा असार २१ गते बिहान घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनकी श्रीमती बालकुमारी बोहराले असार २३ गते जिल्ला प्रहरी कार्यालयमा हुलिया निवेदन दिएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।
खोजतलासकै क्रममा असार २५ गते बिहान करिब ९ बजे बेसीशहर नगरपालिका–१ स्थित आकाशेडाँडा माथिको भिरपानी सामुदायिक वनमा बोहराको शव शंकास्पद अवस्थामा फेला परेको थियो। शवको शरीर र अनुहारको भाग सडिगलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षकको नेतृत्वमा अपराध अनुसन्धान (SOCO) टोली घटनास्थलमा पुगेर सुरक्षा, घटनास्थल निरीक्षण तथा मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा मृतकले लगाउने गरेको सुनको सिक्री र सुनको औँठी शव तथा घटनास्थलमा फेला नपरेपछि प्रहरीले लुटपाटको कोणबाट पनि अनुसन्धान अघि बढाएको थियो।
विभिन्न स्थानका सीसीटीभी फुटेज र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान गर्दा मृतक हराएको दिन दोर्दी गाउँपालिका–१ ढोकेका ३० वर्षीय विजय लामिछाने मृतकसँगै देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले विजयलाई पक्राउ गरी सोधपुछ गर्दा उनले काठको दाउराले प्रहार गरी बुद्धि बहादुर बोहराको हत्या गरेको तथा मृतकले लगाएको सुनको सिक्री र औँठी लुटेको स्वीकार गरेको प्रहरीको दाबी छ। बयानअनुसार उनले घटनाकै राति चितवन पुगेर ती गरगहना बिक्री गरेका थिए।
प्रहरीका अनुसार लामिछानेले भरतपुर महानगरपालिका–२१ पार्वतीपुरस्थित मौलाकालिका सुनचाँदी पसलका सञ्चालक ४३ वर्षीय दीपक विश्वकर्मालाई सुन बिक्री गरी तत्काल ४४ हजार रुपैयाँ लिएका थिए भने बाँकी करिब ६ लाख रुपैयाँ पछि लिने सहमति भएको बताएका छन्।
त्यसपछि लमजुङबाट गएको प्रहरी टोलीले चितवन प्रहरीको सहयोगमा उक्त सुनचाँदी पसलमा खानतलासी गर्दा चोरी भएको भनिएको सुनको सिक्री र औँठी बरामद गरेको थियो। पसल सञ्चालक दीपक विश्वकर्मालाई पनि पक्राउ गरी लमजुङ ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा प्रयोग भएको काठको दाउरा समेत बरामद गरेको छ।
घटनामा संलग्न रहेको आरोपमा विजय लामिछाने र दीपक विश्वकर्माविरुद्ध कर्तव्य ज्यान तथा डाँका चोरी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।