पोखरा, ३१ असार २०८३।
जेलमुक्त हुन ११ दिन बाँकी रहेका एक जना कैदी खोटाङ कारागारमा मृत भेटिएका छन् ।
सवारी ज्यान मुद्दामा दुई वर्षको कैद सजाय भोगिरहेका साकेला गाउँपालिका–४, मात्तिम पारुङका निसान राई जेलमुक्त हुन ११ दिन बाँकी रहँदा मंगलबार राती खोटाङ कारागारमा मृत भेटिएका हुन् ।
जिल्ला कारागारका सूचना अधिकारी कपिन्द्र कठायतका अनुसार राईले असार ३० गते बेलुका खाना खाएपछि सुतेका थिए। उनले राति १२:४५ बजे हुने ‘वर्ल्डकप’ खेल शुरू भएपछि उठाइदिन आग्रह गरेका थिए। खेल शुरु भएपछि उठाउन जाँदा उनी बेहोस अवस्थामा भेटिएका थिए। बेहोश अवस्थामा फेला परेपछि उनलाई राति १:५० बजे जिल्ला अस्पताल पुर्याइएको थियो। अस्पताल पुग्दा नै उनको मृत्यु भइसकेको चिकित्सकले पुष्टि गरेका छन्।
जिल्ला अस्पतालका डा. पुष्कल राईका अनुसार अस्पताल ल्याउँदा निसान राईको मृत्यु भइसकेको अवस्था थियो। मृत्युको वास्तविक कारण भने पोस्टमार्टम प्रतिवेदनपछि मात्रै खुल्ने उनले बताए।
यता, जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले घटनाबारे आधिकारिक विवरण अझै प्राप्त नभएको जानकारी दिए।
मृतक राई पेशाले चालक थिए। उनी सवारी ज्यान मुद्दामा दुई वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए। जरिवाना रकम बुझाएको खण्डमा उनी आगामी साउन ११ गते जेलमुक्त हुने तयारीमा थिए।
मृतकका आफन्त बुद्धिबोल राईले घटनाको वास्तविक कारण स्पष्ट नभएसम्म शव नबुझ्ने बताएका छन्। उनका अनुसार मृतक परिवार, प्रशासन, प्रहरी तथा राजनीतिक दलबीच छलफलपछि मात्रै शव बुझ्ने निर्णय गरिनेछ। मृतक पक्षले निष्पक्ष छानबिन गरी मृत्युको कारण यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ।