अन्नपूर्ण चिनी मिलका सञ्चालक गुप्ता सहयाेगीसहित पक्राउ

अन्नपूर्ण चिनी मिलका सञ्चालक गुप्ता सहयाेगीसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० असार २०८३
  • 1.1K
    Shares

annapurna suger mill, अन्नपूर्ण चिनी उद्याेग, धनकाैल, सर्लाही

पोखरा, ३० सार २०८३।

सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र उनका सहयोगी विनोद साह कलवार उखु किसानको करिब २२ करोड रुपैयाँ बक्यौता भुक्तानी नगरेको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले किसानहरूबाट प्राप्त उजुरीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार चिनी मिलले गत आर्थिक वर्षमा खरिद गरेको उखुको करिब २२ करोड रुपैयाँ किसानलाई हालसम्म भुक्तानी नगरेपछि पीडित किसानहरूले प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीले किसान र मिल व्यवस्थापनबीच पटक–पटक छलफल गराई बक्यौता रकम भुक्तानी गराउने प्रयास गरे पनि उद्योग पक्षले रकम नतिरेपछि कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। त्यसक्रममा सञ्चालक गुप्ता र उनका सहयोगी कलवारलाई पक्राउ गरी सर्लाही जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

उखु किसानहरूले लामो समयदेखि बक्यौता रकम भुक्तानीको माग गर्दै मिल व्यवस्थापनसँग आग्रह गर्दै आएका थिए। भुक्तानी नपाएपछि उनीहरू उखु किसान संघको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सर्लाही पुगेर न्यायको माग गरेका थिए। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया