सञ्चारमाध्यम र नेताको निवासअगाडि शङ्कास्पद पार्किङ गरिएका गाडी सामान्य जरिवानापछि फिर्ता

सञ्चारमाध्यम र नेताको निवासअगाडि शङ्कास्पद पार्किङ गरिएका गाडी सामान्य जरिवानापछि फिर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० असार २०८३
  • 988
    Shares

suspected parking , शंकाश्पद पार्किङ्ग

पोखरा, ३० सार २०८३।

काठमाडौंका विभिन्न सञ्चारमाध्यम, राजनीतिक नेताको निवास तथा सार्वजनिक स्थलअगाडि शङ्कास्पद रूपमा पार्किङ गरिएका सवारीसाधनलाई सामान्य जरिवाना गरेर फिर्ता गरिएको घटनाले अनुसन्धानको प्रभावकारितामाथि प्रश्न उठेको छ।

सोमबार बिहान कान्तिपुर पब्लिकेशन, अनलाइनखबर, हिमालय टेलिभिजन, नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निवासको गेट तथा अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडि केही सवारीसाधन बेवारिसे अवस्थामा पार्किङ गरिएको भेटिएपछि उपत्यका ट्राफिक प्रहरीले क्रेन प्रयोग गरेर ती गाडीहरू रामशाहपथस्थित कार्यालयमा लगेको थियो।

साँझ गाडीधनीहरू ट्राफिक कार्यालय पुगेर अनधिकृत पार्किङ गरेको कसुरमा जरिवाना तिरेपछि आफ्ना सवारीसाधन फिर्ता लगेका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अनुसार सार्वजनिक स्थलमा अरूलाई बाधा पुग्ने गरी पार्किङ गरेकाले ५०० देखि १,५०० रुपैयाँसम्म जरिवाना गरी सवारीसाधन जिम्मा लगाइएको जानकारी दिए।

यद्यपि, ती सवारीसाधन सञ्चारमाध्यम र नेताको निवासअगाडि किन पार्किङ गरिएका थिए भन्ने विषयमा ट्राफिक प्रहरीले कुनै सोधपुछ नगरेको स्रोतले जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतले सञ्चारमाध्यमको गेटअगाडि किन पार्किङ गरिएको भन्नेबारे गाडीधनीसँग सोधपुछ नगरिएको स्वीकार गरेका छन्।

यस घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघकी अध्यक्ष निर्मला शर्माले सञ्चारगृह र पत्रकारका सवारी आवागमनमा अवरोध पुर्‍याउने गरी पार्किङ गरिएका सवारीसाधनलाई सामान्य जरिवाना गरेर छाडिनु गम्भीर विषय भएको भन्दै निष्पक्ष र गहिरो छानबिनको माग गरेकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाबारे अनुसन्धान भइरहेको जनाएको भए पनि मुख्य प्रमाणका रूपमा रहेका सवारीसाधन नै फिर्ता गरिएपछि अनुसन्धानको प्रभावकारितामाथि सरोकारवालाले आशंका व्यक्त गरेका छन्।

यातायात व्यवस्था विभागको विवरणअनुसार अनामनगरस्थित भाटभटेनी अगाडि पार्किङ गरिएको बागमती प्रदेश–०१–०३३ च ४२७५ नम्बरको हुण्डाई क्रेटा निराजन पराजुलीले जिम्मा लिएका छन्। अनलाइनखबरको गेटअगाडि राखिएको बा.१२ च ८५४५ नम्बरको कार काठमाडौंका सुनिल पौडेलको नाममा दर्ता रहेको छ।

त्यस्तै, कान्तिपुर पब्लिकेशनअगाडि पार्किङ गरिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको जिप सानिमा बैंकको नाममा दर्ता रहेको र बैंकबाट ऋण लिएर एसटी मोटर्सले प्रयोग गर्दै आएको खुलेको छ। हिमालय टेलिभिजनअगाडि राखिएको बा.१० च १२५५ नम्बरको कार धुम्बाराहीस्थित डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको विवरण पनि सार्वजनिक भएको छ।

प्रतिक्रिया