पोखरा , ३० असार , २०८३।
ससुरालीमा सुतिरहेका एक दम्पत्तिलाई गोलि हानेर डकैती गर्ने समूहका तीन जना महोत्तरीबाट पक्राउ परेका छन्।
महोत्तरीको सोनमा गाउँपालिका–३ खखना गाउँस्थित रामविश्वास यादवको घरमा गएको जेठ २० गते राती सुतिरहेका उनका ज्वाई ईश्वरनारायण यादव र छोरी किरण यादवलाई गोली हानेर घाइते बनाई डकैती गर्ने समूहका तीन जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ का २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक तथा गौशाला नगरपालिका–५ का क्रिशकुमार मेस्तर रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ। सोही घटनामा संलग्न अन्य फरार व्यक्तिको खोजी जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका तीन जनासहितको समूहले स्थानीय रामविश्वास यादवको घरमा राति प्रवेश गरी डकैती गर्ने क्रममा गोली चलाएको थियो। त्यस दिन घरमा सुतिरहेकी यादवकी छोरी किरण यादवको खुट्टामा दुई गोली लागेको थियो भने उनका ज्वाइँ ईश्वरनारायण यादवको दाहिने हातमा एक गोली लागेको प्रहरीले जनाएको छ। गोली लागेर दुवै जना घाइते भएका थिए। उनीहरूको उपचार गरिएको प्रहरीले जनाएको छ।