बहुमूल्य क्रिस्टलको प्रलोभन देखाएर १० लाख ठगी गरेको आरोपमा पोखराबाट ६ जना पक्राउ

बहुमूल्य क्रिस्टलको प्रलोभन देखाएर १० लाख ठगी गरेको आरोपमा पोखराबाट ६ जना पक्राउ


  • जन संचार
  • सोमबार, २९ असार २०८३
  • 1.9K
    Shares

पोखरा, २९ असर २०८३।

बहुमूल्य क्रिस्टल रहेको भन्दै करोडौं रुपैयाँमा बिक्री हुने प्रलोभन देखाएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा पोखराबाट ६ जना पक्राउ परेका छन् ।

आफूहरूसँग अन्धकारमा प्रकाश दिने, पानीलाई जमाएर डल्लो बनाउने तथा फूलको कोपिलालाई तत्काल फुलाउने अद्भुत शक्तियुक्त बहुमूल्य क्रिस्टल रहेको र त्यो क्रिष्टल बिक्री गर्दा करोडौं फाइदा हुने भन्दै प्रलोभन देखाएर पोखरा महानगरपालिका वडा नम्बर २८ का दीपेन्द्र तिमिल्सिनासंग १० लाख रुपियाँ ठगी गरेको आरोपमा छ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा म्याग्दी मालिका गाउँपालिका–४ निवासी ५१ वर्षीय डिलबहादुर बुढाथोकी, म्याग्दी रघुगंगा गाउँपालिका–५ निवासी २९ वर्षीय दिपक गोतामे, पोखरा महानगरपालिका–२८ निवासी ४५ वर्षीय प्रेमचन्द विश्वकर्मा, पर्वत फलेवास नगरपालिका–५ निवासी ३५ वर्षीय राजन विश्वकर्मा, २९ वर्षीया रोशनी सुनार तथा ७२ वर्षीया खैसरा सुनार रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले आज दिउसो करिब साढे १२ बजे पोखरा महानगरपालिका–२६ कालिकास्थान, छहारी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार, शुरुमा १० लाख रुपियाँ रकम लिइसकेपछि पनि उनीहरुले पुनः सम्पर्क गरी थप २० लाख रुपैयाँ मागेका थिए। रकम नदिए विभिन्न किसिमका धम्कीसमेत दिएको पिडित तिमिल्सिनाको भनाइ रहेको छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट सेतो टल्किने क्रिस्टलजस्तो देखिने लाम्चो आकारको एक थान वस्तु, एक थान काठको फोल्डिङ बट्टा, एक थान चार्जर तथा ६ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया