लागुऔषध सेवन गरी यात्रुवाहक जिप चलाएको आरोपमा पोखराबाट जिपचालक पक्राउ : लाइसेन्स निलम्बन प्रक्रिया शुरु

लागुऔषध सेवन गरी यात्रुवाहक जिप चलाएको आरोपमा पोखराबाट जिपचालक पक्राउ : लाइसेन्स निलम्बन प्रक्रिया शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ असार २०८३
  • 1.2K
    Shares

jeep driver arrested in pokhara

पोखरा, २९ असार २०८३ ।

लागुऔषध सेवन गरी यात्रुवाहक जिप चलाएको आरोपमा पोखराबाट एक जना जिपचालक पक्राउ परेका छन्।

पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा आइतबार शंकास्पद अवस्थामा रहेका दुई जना चालक तथा सहचालकको जाँच गर्ने क्रममा पोखराबाट स्याङ्जातर्फ सञ्चालन हुने ग१ज ७८३६ नम्बरको यात्रुवाहक जिपका चालक मोहन बुढाथोकी लागुऔषध सेवन गरेको अवस्थामा भेटिएपछि पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रहरीका अनुसार स्याङ्जा नगरपालिका–८, भिरकोट निवासी ३१ वर्षीय बुढाथोकीको परीक्षणका क्रममा लागुऔषध सेवन गरेको पुष्टि भएपछि आवश्यक कानुनी कारबाहीका लागि उनलाई वडा प्रहरी कार्यालय बैदाम पठाइएको छ।

घटनासँगै बुढाथोकीको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बन गर्ने प्रक्रिया समेत शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक सवारीसाधन चालकलाई लागुऔषध सेवन नगरी सुरक्षित र जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न आग्रह गर्दै यस्ता गतिविधिविरुद्ध नियमित निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया