विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पूर्व माओवादीका पूर्व कमाण्डर लहानु चौधरी पक्राउ

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पूर्व माओवादीका पूर्व कमाण्डर लहानु चौधरी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ असार २०८३
  • 1K
    Shares

arrested lahanu chaudhari , लहानु चौधरी पक्राउ

पोखरा , २७ असर २०८३।

काठमाडौं । विदेश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले माओवादीका एक पूर्वलडाकु कमाण्डरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ मा स्थायी घर भै हाल काठमाडौं बस्दै आएका ४६ वर्षीय लहानुराम चौधरी रहेका छन्। उनलाई शनिबार काठमाडौंको थानकोट क्षेत्रबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) शरद थापाका अनुसार, चौधरीबिरुद्ध काठमाडौंबाट क्यानडा पठाइदिने प्रलोभन देखाई २६ जनाबाट करिब दुई करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ। चौधरीविरुद्ध वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ। सोही आरोपमा वैदेशिक रोजगार विभागले पक्राउ अनुमति जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार चौधरीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुलेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। पक्राउपछि उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन वैदेशिक रोजगार विभागमा बुझाइने तयारी गरिएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीविरुद्ध वैदेशिक रोजगारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यद्यपि, आरोपबारे अन्तिम टुंगो अदालतको फैसला भएपछि मात्र लाग्ने भएकाले हाल उनी अनुसन्धानको दायरामा रहेका व्यक्ति हुन्।

पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीमा पठाइदिने नाममा ठगीका घटनाहरू बढ्दै गएको भन्दै प्रहरीले रोजगारीका लागि विदेश जान चाहने व्यक्तिहरूलाई इजाजतप्राप्त म्यानपावर कम्पनी तथा सम्बन्धित सरकारी निकायमार्फत मात्रै प्रक्रिया अघि बढाउन आग्रह गर्दै आएको छ।

प्रतिक्रिया