पोखरा , २७ असर २०८३।
धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा एम्बुलेन्स र धनुषाधाम नगरपालिकाकी उपमेयर सवार सरकारी गाडी एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।
आज बिहान करिब ६:२० बजे बडहरीबाट बिरामी लिएर विराटनगरतर्फ जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा एम्बुलेन्स चालकसहित एम्बुलेन्समा सवार पाँच जना तथा सरकारी गाडीमा सवार तीन जना गरी ८ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैय्या, धनुषा पठाइएको प्रहरीले जनाएको छ।
एम्बुलेन्समा सवार घाइतेहरूको विवरण:
१. जिल्ला धनुषा, मिथिला नगरपालिका-१ बस्ने अन्दाजी ४९ वर्षीय दिपेन्द्र कुमार महतो (एम्बुलेन्स चालक) (सामान्य)
२. जिल्ला महोत्तरी, गौशाला नगरपालिका-५ बस्ने अन्दाजी ४५ वर्षीय बसन्त कुमार सिंह (सामान्य)
३. जिल्ला महोत्तरी, गौशाला नगरपालिका-५ बस्ने अन्दाजी ४० वर्षीया रेणु कुमारी महतो (मध्यम)
४. जिल्ला धनुषा, मिथिला नगरपालिका-९ बस्ने अन्दाजी ६० वर्षीया राजु देवी (पहिलेदेखि पक्षघात/प्यारालाइसिसकी बिरामी)(सामान्य)
५. जिल्ला धनुषा, मिथिला नगरपालिका-९ बस्ने अन्दाजी ६५ वर्षीय लक्ष्मी महतो (सामान्य)
सरकारी गाडीमा सवार घाइतेहरूको विवरण:
१. जिल्ला धनुषा, धनुषाधाम नगरपालिका-८ बस्ने अन्दाजी ५० वर्षीय बद्री भुजेल (सरकारी गाडी चालक) (सामान्य)
२. अन्दाजी ६५ वर्षीया विद्दा भुजेल, धनुषाधाम नगरपालिकाकी उपमेयर (सामान्य)
३. जिल्ला धनुषा, धनुषाधाम नगरपालिका-८ बस्ने अन्दाजी ७० वर्षीय भीमराज भुजेल (सामान्य)
सरकारी गाडीमा धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार थिइन्। दुर्घटनामा उनीसहित चालक बद्री भुजेल र भीमराज भुजेल सामान्य घाइते भएका छन्।
एम्बुलेन्समा सवार घाइतेहरूमा चालक दिपेन्द्र कुमार महतो, बसन्त कुमार सिंह, रेणु कुमारी महतो, पक्षघातबाट पीडित राजु देवी तथा लक्ष्मी महतो रहेका छन्। प्रहरीका अनुसार रेणु कुमारी महतोको अवस्था मध्यम रहेको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।