पोखरा, २६ असार २०८३।
पोखरा घुम्न आएका अर्घाखाँचीका एक युवाको साथबाट झन्डै दुई ग्राम ब्राउन सुगर भेटिएको छ।
वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण ब्युरो, पोखराबाट खटिएको संयुक्त टोलीले पोखरा घुम्न आएका अर्घाखाँची सितगंगा गाउँपालिका–२ का २५ वर्षीय हरीबहादुर घर्तीलाई लागू औषध खैरो हिरोइन (ब्राउन सुगर) १.९ ग्राम तथा एक थान मोबाइलसहित पक्राउ गरेको हो।
पोखरा महानगरपालिका–१८, सेदी क्षेत्रमा ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उक्त प्रहरी टोलीले बिहीबार साँझ करिब ६ बजे गरेको खान्तालाशीका क्रममा पोखरा घुम्न आएका अर्घाखाँचीका युवा हरीबहादुर घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाकारी दिएको छ।
पक्राउ परेका घर्तीविरुद्ध लागू औषध सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।