कञ्चनपुरबाट एक दम्पत्ति भरुवा बन्दुक र लागूऔषधसहित पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी, इलाका प्रहरी कार्यालय गुलरिया, इलाका प्रहरी कार्यालय रैकवार र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार राति करिब ११ बजे कृष्णपुर नगरपालिका–१ पिपरियाबाट एक दम्पत्तिलाई भरुवा बन्दुक र लागूऔषधसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा स्थानीय जोकराज राना र उनकी श्रीमती जानकी राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
गोप्य सूचनाका आधारमा जोकराज रानाको घरमा गरिएको खानतलासीका क्रममा कोठाभित्र लुकाइराखिएको एक थान भरुवा बन्दुक, ०.७८ ग्राम हेरोइन, ८० ग्राम गाँजा, विभिन्न कम्पनीका ८ थान स्क्रिन टच मोबाइल र २ थान कीप्याड मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद भएका सामान नियन्त्रणमा लिई दुवै जनाविरुद्ध लागूऔषध तथा हातहतियारसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।