पोखरा, २५ असार २०८३।
नक्कली नागरिकता तथा अन्य सरकारी कागजात तयार गरिदिने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले बिराटनगरबाट एक फोटो सर्भिसका संचालकसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगरको महेन्द्र चोकस्थित ‘न्यू डोली फोटो सर्भिसेज’ का संचालक विराटनगर महानगरपालिका–६ निवासी धनदेव राजवंशी र विराटनगर–११ निवासी अशोककुमार श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार सप्तरी स्थायी घर भई हाल विराटनगर–१४ बस्दै आएकी ३० वर्षीया मनिषाकुमारी कामत गत असार २४ गते राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेकी थिइन्। उनले मनिषाकुमारी राजवंशीको नाममा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र पेस गरेकी थिइन्।
प्रशासन कार्यालयमा कागजातको जाँच गर्ने क्रममा उक्त नागरिकता नक्कली भएको पुष्टि भएपछि कार्यालयले तत्काल प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लोकनाथ दाहालको नेतृत्वमा विशेष टोली परिचालन गरी अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा मनिषाले प्रयोग गरेको नक्कली नागरिकता धनदेव राजवंशी र अशोककुमार श्रेष्ठले उपलब्ध गराएको खुलेपछि प्रहरीले विराटनगरको महेन्द्र चोकस्थित ‘न्यू डोली फोटो सर्भिसेज’ मा छापा मारेको थियो। उक्त फोटो स्टुडियो धनदेव राजवंशीले सञ्चालन गर्दै आएका थिए।
खानतलासीका क्रममा प्रहरीले १२ थान नेपाली नागरिकताको प्रमाणपत्र, २ थान सवारी चालक अनुमति पत्र, २ थान मोबाइल, १ थान कम्प्युटर सीपीयू, नगद ३ हजार ४ सय ५० रुपैयाँ तथा सरकारी कागजात कीर्ते गर्न प्रयोग हुने अन्य सामग्री बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार बरामद सामग्रीमा १० थान खाली जन्मदर्ता प्रमाणपत्र, १ थान खाली विवाह दर्ता प्रमाणपत्र, १ थान खाली मृत्यु दर्ता प्रमाणपत्र, साथै विभिन्न व्यक्तिका नाममा जारी भइसकेका जन्म, विवाह र मृत्यु दर्ताका प्रमाणपत्र पनि फेला परेका छन्। ‘न्यू डोली फोटो सर्भिसेज विराटनगर’ लेखिएको रबर स्ट्याम्प समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङका डीएसपी सन्तोष श्रेष्ठका अनुसार पक्राउ परेका दुवै जनामाथि लिखत सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले यो गिरोहले अन्य व्यक्तिहरूलाई समेत नक्कली नागरिकता तथा सरकारी कागजात उपलब्ध गराएको हुन सक्ने आशंकामा त्यसतर्फ पनि अनुसन्धान जारी राखेको जनाएको छ।