पोखरा, २४ असार २०८३।
रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गा विवादका क्रममा भएको चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ।
मंगलबार राति करिब ८:१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राममहेश्वर साहबीच जग्गाको विषयलाई लिएर विवाद हुँदा कुटपिट भएको प्रहरीले जनाएको छ।
विवादकै क्रममा राममहेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट बुटन साहको ढाड (पिठ्युँ)मा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको भए पनि राति करिब ९:०५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा रामबहादुर साह पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ भने स्थानीय मेडिकलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनापछि खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न राममहेश्वर साह र झैँझगडामा संलग्न रामऔतार साहलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।