पोखरा, २१ असार २०८३।
भारतको जोगबनीबाट लागुऔषध सेवन गरेर नेपाल आउदै गरेका दुई जना विराटनगरमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विराटनगर–१ निवासी ३६ वर्षीय पेशल घिमिरे र विराटनगर–४ निवासी राहुल सरदार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
प्रहरीका अनुसार उनीहरू आइतबार दिउँसो भारतको जोगबनीबाट लागुऔषध सेवन गरी नेपाल प्रवेश गरिरहेका बेला लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले चेकजाँच गरेको थियो। सो क्रममा ड्युटीमा खटिएका प्रहरीसँग अभद्र व्यवहार गरेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले पेशल घिमिरेको साथबाट शब्द एक्सप्रेस अनलाइनको पत्रकार परिचयपत्र (प्रेस कार्ड) फेला पारेको जनाएको छ। साथै उनीहरूले प्रयोग गरेको प्रदेश १–०२–०४१ प २०९० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त परिचयपत्र शब्दाक्षर मिडिया प्रालिद्वारा सञ्चालित शब्द एक्सप्रेस अनलाइनका रिपोर्टरका नाममा जारी भएको खुलेको प्रहरीले जनाएको छ।
शब्द एक्सप्रेस अनलाइनका सञ्चालक माधव काफ्लेका अनुसार घिमिरे विगतमा संस्थालाई सूचना उपलब्ध गराउने कार्यमा संलग्न भए पनि लामो समयदेखि संस्थासँग आबद्ध छैनन्। उनका अनुसार परिचयपत्र समयमै फिर्ता लिन नसक्नु संस्थागत कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा प्रेस कार्ड वितरण, नवीकरण तथा फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाइनेछ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्र पी. अधिकारीले पक्राउ परेका व्यक्तिले बोकेको पत्रकार परिचयपत्रबारे शंका व्यक्त गरेका छन्। उनका अनुसार घिमिरे महासंघसँग आबद्ध छैनन्। परिचयपत्रमा जारी मिति र म्याद समाप्त हुने मिति उल्लेख नभएकाले यसको वैधताबारे सम्बन्धित सञ्चार संस्थासँग आवश्यक बुझेर थप प्रक्रिया अघि बढाइने उनले बताए।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ। उनीहरूमाथि लागुऔषध सेवन, प्रहरीमाथि अभद्र व्यवहारलगायतका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।