पोखरा, १६ असार २०८३।
सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकमा स्कुल बसले किच्दा एक ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ।
बुधबार अपराह्न पायोनियर एजुकेसन एकेडेमीको को१ ख ३५९९ नम्बरको बसले किच्दा सहचालक लहान नगरपालिका–२२ निवासी २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत ५ वर्षीया समीक्षा कुमारी साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
समीक्षा सप्तरीको बोधेबरसाइन नगरपालिका–८ काचनकी स्थायी बासिन्दा भए पनि हाल मावलीको घर लक्ष्मीपुरपतारी–२ पर्सामा बस्दै आएकी थिइन्।
प्रहरीका अनुसार विद्यार्थीलाई घरमा पुर्याएर विद्यालयतर्फ फर्किने क्रममा समीक्षालाई बसबाट झार्दा बस अगाडि बढेको थियो। त्यसक्रममा बसको पछाडिको चक्काले बालिका र सहचालक यादवलाई किचेको थियो।
दुर्घटनापछि बसलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारले नियन्त्रणमा लिएको छ। फरार रहेका चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।