पोखराको लेकसाइडस्थित मारवाडी रेष्टुरेन्टलाई ५० हजार जरिवाना, पोखराका चर्चित अस्पतालका क्यान्टिनलाई पनि कारबाही

पोखराको लेकसाइडस्थित मारवाडी रेष्टुरेन्टलाई ५० हजार जरिवाना, पोखराका चर्चित अस्पतालका क्यान्टिनलाई पनि कारबाही


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, १६ असार २०८३
  • 2K
    Shares

पोखरा, १६ असार २०८३।

जिल्ला अनुगमन समिति कास्कीले पोखरा–६, लेकसाइडस्थित श्रीकृष्ण मारवाडी रेष्टुरेन्टलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। भान्छा सरसफाइमा लापरबाही, व्यवसाय नवीकरण नगरेको तथा मदिरा बिक्रीको अनुमति नलिई मदिरा बिक्री–वितरण गरेको पाइएपछि जरिवाना गरिएको हो।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार उपभोक्ताबाट गुनासो आएपछि अनुगमन टोलीले रेष्टुरेन्टमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा देखिएका कमजोरीका आधारमा सञ्चालक लालबाबु साहलाई ५० हजार रुपैयाँ जरिवाना गर्नुका साथै व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

सरसफाइको अवस्था कमजोर देखिएपछि आइतबार रेष्टुरेन्ट सञ्चालनमा रोक लगाइएको थियो। आवश्यक सरसफाइ तथा सुधारपछि सोमबार पुनः सञ्चालन गर्न अनुमति दिइएको प्रशासनले जनाएको छ।

यसैबीच, सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाटस्थित क्यान्टिनमा पनि अनुगमन गरिएको छ। अनुगमनका क्रममा भान्छा तथा क्यान्टिनमा सरसफाइमा ध्यान नदिएको र तारेका खाद्यपदार्थ अव्यवस्थित रूपमा राखिएको भेटिएपछि सञ्चालक उजित खड्कालाई सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको बरालले जानकारी दिए।

त्यसैगरी, पोखरा–११, फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका दुई क्यान्टिनमा गरिएको अनुगमनमा विभिन्न कमजोरी भेटिएका छन्।

अस्पतालको भुइँतलामा रहेको क्यान्टिनमा ब्याच नम्बर, उत्पादन मिति र उपभोग्य मिति उल्लेख नभएका गुणस्तरहीन खाद्यवस्तु फेला परेपछि ती सामग्री नष्ट गरिएको छ। साथै भान्छा सरसफाइसमेत मापदण्डअनुसार नभएकाले सञ्चालक सुदीप सिग्देललाई आवश्यक कागजातसहित एक साताभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

मणिपाल अस्पताल परिसरमै रहेको सर्वगुण फुड्स एण्ड किचनमा गरिएको अनुगमनका क्रममा उत्पादन मिति, उपभोग्य मिति र लेबल उल्लेख नभएका ४७ पिस बेकरीजन्य खाद्यवस्तु बिक्रीका लागि राखिएको पाइएपछि नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले जानकारी दिए। उक्त किचनका सञ्चालक सन्तोष बास्तोलालाई पनि आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय कास्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा महानगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

समितिले खाद्य व्यवसायीलाई सरसफाइ, खाद्य गुणस्तर र कानुनी मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा लापरबाही गर्ने व्यवसायमाथि नियमित अनुगमन र कानुनी कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया