पोखरा, १५ असार २०८३।
अध्ययनका लागि जापान पुगेका रोल्पाका एक युवाको निधन भएको छ।
अध्ययनका लागि जापान पुगेका रोल्पाको गंगादेव गाउँपालिका–६, बल्ले डिमुरगौराका २१ वर्षीय सुरेन्द्र वलीको निधन भएको हो।
वली शनिबार जापानको चिबा प्रान्तमा मृत भेटिएका गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र परिवार स्रोतले पुष्टि गरेका छन्। एनआरएनए जापानका अनुसार मृत्युको कारण खुल्न बाँकी रहेको छ। चिकित्सकले पोस्टमार्टम तथा स्वास्थ्य परीक्षणको प्रतिवेदन मंगलबारसम्म उपलब्ध गराउने जानकारी दिएको र त्यसपछि आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।
१२ कक्षा उत्तीर्ण गरेपछि उनले काठमाडौंमा प्रारम्भिक जापानी भाषा अध्ययन गरी थप अध्ययनका लागि जापान गएका थिए। उनी हाल चिबास्थित एक भाषा विद्यालयमा जापानी भाषा अध्ययनरत थिए।
गंगादेव गाउँपालिका–६ का वडा अध्यक्ष भरत वलीका अनुसार सुरेन्द्रका परिवारजनले उनको शव नेपाल ल्याएर नेपाली परम्पराअनुसार अन्त्येष्टि गर्ने इच्छा व्यक्त गरेका छन्।
सुरेन्द्र तीन दाजुभाइमध्ये माइला थिए। उनका जेठा दाजु रमेश वली र कान्छा दाजु कर्ण वली हाल वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका छन्।
यस घटनाले जापानमा रहेका नेपाली विद्यार्थी तथा नेपाली समुदायलाई स्तब्ध बनाएको छ। सामाजिक सञ्जालमा सुरेन्द्रप्रति श्रद्धाञ्जली व्यक्त गर्ने क्रम जारी छ।