पोखरा, १५ असार २०८३।
मलेसियाको सेलांगोर राज्यस्थित काजाङ क्षेत्रको एक अपार्टमेन्टमा सुटकेसभित्र राखिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा मृतक नेपाली नागरिक हुन सक्ने बलियो आशंका गरिएको छ।
तामान इम्पियान इन्दाहस्थित अपार्टमेन्टको तेस्रो तलाको उक्त कोठा करिब तीन महिनाअघि एक नेपाली महिला र एक पुरुषले भाडामा लिएका थिए। केही समयदेखि भाडा नतिरेको र पटक–पटक सम्पर्क गर्दा पनि कुनै प्रतिक्रिया नआएपछि घरबेटी कोठा निरीक्षण गर्न पुगेका थिए।
कोठाभित्र प्रवेश गर्दा अत्यन्तै फोहोर अवस्था रहेको र असह्य दुर्गन्ध फैलिएको थियो। बैठक कोठाको एक कुनामा राखिएको ठूलो कार्टुन बक्सबाट तरल पदार्थ बगिरहेको तथा त्यसभित्र रहेको ठूलो सुटकेस अस्वाभाविक रूपमा फुलेको देखिएपछि घरबेटीले तत्काल प्रहरीलाई खबर गरेका थिए।
काजाङ जिल्ला प्रहरी प्रमुख नाजरोन अब्दुल युसुफका अनुसार जुन २८, २०२६ को राति करिब ८:३७ बजे घटनाबारे सूचना प्राप्त भएपछि फरेन्सिक टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार शवसँग कुनै पनि आधिकारिक परिचय खुल्ने कागजात, जस्तै राहदानी, फेला परेको छैन। शवलाई पोस्टमार्टमका लागि काजाङ अस्पताल पठाइएको छ भने मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
मलेसियाली प्रहरीले घटनालाई क्रूर हत्याको आशंकामा अनुसन्धान अघि बढाएको छ। उक्त घटनामा मलेसियाको दण्ड संहिताको धारा ३०२ अन्तर्गत हत्या सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ।