पोखरा, १५ असार २०८३।
चोरीका मोटरसाइकल किनबेच गर्ने कार्यमा संलग्न रहेको आरोपमा बागलुङबाट तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको विशेष अपरेसन टोलीले बागलुङ जिल्लाका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका सवारी साधनको खोजतलासका क्रममा चोरीका मोटरसाइकल किनबेच गर्ने कार्यमा संलग्न रहेको आरोपमा तीन जनालाई चोरीको मोटरसाइकल सहित पक्राउ गरेको हो।
चोरी भएका थाथा हराएका मोटरसाइअकलहरु विभिन्न स्थानमा खोजी गर्ने क्रममा ध १ प ९४५६ नम्बरको १५० सीसी पल्सर र ग १६ प ७१०७ नम्बरको १२५ सीसी सुपर स्प्लेन्डर मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार , चोरी भएका मोटरसाइकल बिक्री गरेको आरोपमा म्याग्दीको मङ्गला गाउँपालिका–२ निवासी १९ वर्षीय रामबहादुर सुनार र बागलुङ नगरपालिका–८ सिगाना निवासी २४ वर्षीय प्रेम परियारलाई पक्राउ गरिएको छ भने उक्त मोटरसाइकल खरिद गरेको आरोपमा म्याग्दीको बेनी नगरपालिका–२ निवासी ३५ वर्षीय नारायण थापालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। प्रहरीले चोरी भएका सवारी साधनको खोजी तथा अवैध खरिद–बिक्री नियन्त्रणका लागि विशेष अभियानलाई निरन्तरता दिने जनाएको छ।