धनगढी, १४ असार २०८३ ।
धनगढीमा सुनको मुन्द्राका लागि मुक्त कमैया शिविरका १० वर्षीय बालकको हत्या भएकाे छ ।
धनगढी–१७ उत्तरखैरेनीका १० वर्षीय तनुज चौधरी बुधबार दिउँसो घरबाट साइकलमा निस्किएपछि साथी राम चौधरीसँग मोया पुगेका थिए। खेतमा रोपाइँ गरिरहेका रामका बुवासँग भेटेपछि उनीहरू नजिकैको खोलामा गंगटा मार्न गए र स्थानीयसँगै गंगटा तथा घरेलु मदिरा सेवन भएको थियो।
पानी पिएर छुट्टिएपछि तनुज साँझ घर फर्किने भन्दै हिँडे तर घर नपुगेपछि परिवारले खोजी थाले। दुई दिनपछि धनगढी–गौरीगंगा सीमास्थित कालिका सामुदायिक वनभित्र उनको हत्या गरिएको अवस्थामा शव फेला पर्यो। शव नजिकै साइकल, प्लास्टिक, गंगटाका अवशेष र रगतका छिटा भेटिएका थिए।
तनुजले लगाएको सुनको मुन्द्रा गायब भएकाले लुटपाटका लागि हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनामा संलग्न आशंकामा एक नाबालकसहित चार जना नियन्त्रणमा छन् भने करिब २५ वर्षीय खगेन्द्र कठायत फरार छन्। प्रहरीले घटनाको गम्भीर अनुसन्धान जारी राखेको छ।