काठमाडौं, १ असार २०८३ ।
अमेरिकाको मिसौरी राज्यमा स्काइडाइभिङका लागि प्रयोग हुने एक विमान दुर्घटनाग्रस्त हुँदा १२ जनाको मृत्यु भएको छ। दुर्घटना आइतबार बिहान स्थानीय समयअनुसार करिब ११ः३० बजे बटलर मेमोरियल विमानस्थल नजिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्राप्त जानकारीअनुसार स्काइडाइभिङका लागि यात्रु बोकेर उडेको ‘प्यासिफिक एयरोस्पेस पी–७५०’ विमान अचानक नियन्त्रण गुमाएर सडकछेउको खाली मैदानमा खसेको थियो। दुर्घटनालगत्तै विमानमा आगलागी भएको र ठूलो विस्फोट भएपछि विमान पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ।
मिसौरी हाइवे पेट्रोलका सार्जेन्ट जस्टिन इविङले दुर्घटनाको पुष्टि गर्दै विमानमा सवार कसैको पनि ज्यान बचाउन नसकिएको जानकारी दिएका छन्। सूचना प्राप्त हुनासाथ उद्धार टोली घटनास्थल पुगे पनि सबै यात्रुको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनापछि बटलर प्रहरी विभाग, बेट्स काउन्टी शेरिफ कार्यालय तथा अन्य आपत्कालीन निकायका टोली घटनास्थलमा परिचालन भएका थिए। सुरक्षा कारणले दुर्घटनास्थल आसपासका सडक केही समयका लागि बन्द गरिएको थियो।
संघीय उड्डयन प्रशासन (FAA) का अनुसार दुर्घटनाग्रस्त ‘प्यासिफिक एयरोस्पेस 750XL’ सन् २०१० मा निर्मित एकल इन्जिनयुक्त टर्बोप्रोप विमान हो। यो विमान मुख्य रूपमा स्काइडाइभिङका लागि प्रयोग गरिने भए पनि कार्गो ढुवानी, हवाई सर्वेक्षण तथा मेडिकल उद्धार सेवामा समेत प्रयोग हुँदै आएको छ।
विमान दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान अमेरिकाको नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्ड (NTSB) ले सुरु गरेको छ।
बटलर मेमोरियल विमानस्थल निजी स्वामित्वको विमानस्थल हो, जहाँबाट स्काइडाइभिङ तथा अन्य साना हवाई सेवा सञ्चालन हुने गरेका छन्।