अमेरिका र इरानबीच युद्धविराम सम्झौता : स्ट्रेट अफ होर्मुज पुन: खुल्ने

अमेरिका र इरानबीच युद्धविराम सम्झौता : स्ट्रेट अफ होर्मुज पुन: खुल्ने


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, १ असार २०८३
  • 1.8K
    Shares

पोखरा, १ असार २०८३।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धविराम सम्झौता भएको घोषणा गरेका छन्। सम्झौतासँगै दुवै देशबीचका सबै सैन्य गतिविधि तत्काल रोक्ने सहमति भएको उनले बताएका छन्।

ट्रम्पका अनुसार स्ट्रेट अफ होर्मुजबाट हुने व्यापारिक जहाज आवागमनमा अब शुल्क नलाग्ने व्यवस्था पुनः सुरु गरिनेछ, जसले विश्व ऊर्जा आपूर्तिमा सहजता ल्याउने अपेक्षा गरिएको छ। साथै, अमेरिकी नौसैनिक नाकाबन्दी हटाइने र तेल ढुवानी पुनः सामान्य अवस्थामा फर्काइने उनले उल्लेख गरेका छन्।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले सामाजिक सञ्जालमार्फत अमेरिका–इरानबीच शान्ति सम्झौता भएको जानकारी दिएका थिए। उनका अनुसार यो सम्झौताले इरान मात्र नभई लेबनानलगायत क्षेत्रीय द्वन्द्वहरू अन्त्य गर्न सहयोग पुर्‍याउनेछ।

सम्झौतामा औपचारिक हस्ताक्षर आगामी १९ जुनमा स्वीट्जरल्यान्डमा हुने बताइएको छ। मध्यस्थतामा कतार, साउदी अरब र टर्कीले महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ। कतारले यस सम्झौताले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र आर्थिक विकासलाई बल पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया