पोखरामा घर फोड्दा फोड्दै एक जना चोर पक्राउ

पोखरामा घर फोड्दा फोड्दै एक जना चोर पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, २४ जेष्ठ २०८३
  • 1.8K
    Shares

पोखरा, २४ जेठ २०८३।

कास्की प्रहरीले पोखरा महानगरपालिका–२६ माझको डाँडास्थित एक घरमा चोरीको प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८३ जेठ २२ गते बिहान करिब ११:३० बजे धनबहादुर खड्काको घरमा कोही नभएको मौका छोपेर घरको मूलढोका तथा भित्री कोठाको ताल्चा फोडी चोरी गर्ने प्रयास भइरहेको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोली घटनास्थलतर्फ पुगेको थियो। प्रहरी पुग्ने क्रममा आरोपित व्यक्ति भाग्ने प्रयास गरे पनि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला, नमोबुद्ध नगरपालिका–११ निवासी ३६ वर्षीय राजन तामाङ रहेका छन्। उनीबाट ताल्चा फोड्न प्रयोग हुने फलामे औजार समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घरभित्र प्रवेश गरी कोठाको दराजसमेत तोडफोड गरिएको थियो। घटनाबारे थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका उद्योग सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

कास्की प्रहरीले चोरी तथा आपराधिक गतिविधिबारे कुनै सूचना प्राप्त भएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रतिक्रिया