‘वान टु’ लेख्न नजानेको भन्दै पाँचथरमा शिक्षिकाले भाटाले हानेपछि बालक अस्पताल भर्ना

‘वान टु’ लेख्न नजानेको भन्दै पाँचथरमा शिक्षिकाले भाटाले हानेपछि बालक अस्पताल भर्ना


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ जेष्ठ २०८३
  • 1.4K
    Shares

गणेशमानसिंह सामुदायिक अस्पतालमा उपचाररत घाइते बालक । तस्बिर : राधा लुइटेल

पोखरा, १ जेठ २०८३।

‘वान टु’ लेख्न नजानेको भन्दै पाँचथरमा भाटाले हानेर घाइते बनाइएका एक बालक अस्पताल भर्ना भएका छन्।

शिक्षिका सुमित्रा सेन्दाङ (नेम्वाङ) ले भाटाले हानेर घाइते बनाएको भनिएका पाँचथरको फिदिम नगरपालिका–१४ स्थित लुङरुपा एकेडेमीमा अध्ययनरत बालक सेफुङ नेम्वाङलाई उपचारका लागि फिदिम स्थित गणेशमानसिंह सामुदायिक अस्पतालमा भर्ना गरिएको हो ।

पीडित बालक सेसेफुङ नेम्वाङकी आमा सावित्रा नेम्वाङका अनुसार विद्यालयका शिक्षिका सुमित्रा सेन्दाङ (नेम्वाङ) ले ‘वान टु’ लेख्न नजानेको भन्दै बालकलाई भाटाले हानेकी हुन् । ढाडमा १८ भाटा हानेपछि बिरामी परेका सेसेफुङलाई शुक्रबार फिदिम स्थित गणेशमानसिंह सामुदायिक अस्पतालमा भर्ना गरिएको छ ।

“छोरो रातभरी सुत्न नसकेर छटपटाउनका साथै ज्वरो आएपछि लुगा फुकालेर हेर्दा शरीर भरी निलडाम देखिएपछि सोधपुछ गर्दा मिसले कुटेको थाहा भयो,” आमा सावित्राले बताइन् ।

घटनाबारे अभिभावकले वडाध्यक्ष राजकुमार नेम्वाङलाई जानकारी गराएपछि वडाध्यक्ष नेम्वाङको निर्देशन पछि घाइते बालकलाई अस्पताल पुर्याइएको प्राप्त समाचारमा जनाइएको छ।

विद्यालय सञ्चालक संयोग सारु मगरले बालकमाथि कुटपिट गर्ने शिक्षिकालाई निलम्बन गरिएको तथा उपचार खर्च विद्यालय प्रशासनले व्यहोर्ने सहमति अभिभावकसँग भएको जानकारी दिए।

पीडित पक्षले भने विद्यालय प्रशासन सम्पर्कमा नआएको गुनासो गरेका छन्। सावित्राले भनिन , “हामीले फोन गर्दा पनि उठाउनु भएको छैन । सञ्चालकको श्रीमती मार्फत मेरो मोवाइलमा उपचार खर्च व्यहोर्छौं भनेर म्यासेज चाहिँ आएको छ. ,”

प्रतिक्रिया