पोखरा, २२ बैशाख २०८३।
अष्ट्रेलियाको सिड्नीमा एक बाल हेरचाह केन्द्र (चाइल्ड केयर) मा कार्यरत नेपाली युवा बालबालिकालाई थप्पड हानेको अभियोगमा पक्राउ परेका छन्। दक्षिण-पश्चिम सिड्नीको एउटा मन्टेश्वरीमा काम गर्ने मुगुको छायाँनाथ नगरपालिका, निवासी २४ वर्षीय जयन्द्रजंग शाही बालबालिकालाई थप्पड हानेको अभियोगमा गएको अप्रिल २६ मा पक्राउ परेका हुन्।
सीसीटीभी फुटेजमा उनले बच्चाहरु दिउँसो करिब १ बजे सुतेर निदाएको समयमा ३ र ४ वर्षका दुई जना बालकलाई थप्पड लगाएको देखिएको थियो।
दोस्रो पटक घटना दोहोरिएपछि बेलमोरस्थित एक घरमा पुगेर प्रहरीले उनलाई फेरि पक्राउ गरेको हो। सेभेन न्यूज डट कमका अनुसार शाहीविरुद्ध सामान्य कुटपिटको अभियोगमा अनुसन्धान भइरहेको छ। महत्वपूर्ण कुरा चाहिँ अदालतले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ। उनी प्रहरी हिरासतमा छन्।
न्यायाधीश अमान्डा कोल्टास–रोर्बर्ट्सले यी दुवै घटना सामान्य प्रकृतिको भए पनि बालबालिका कुटपिटका यी उदाहरण निकै गम्भीर भएको बताइन्। ‘अभियुक्तले बाल हेचाह केन्द्रमा बालबालिकाको हेरचाह गर्नुपर्नेमा यस्तो काम गरे। ३ र ४ वर्षका बालबालिका सुतिरहेको अवस्थामा उनले थप्पड हानेर रुवाएका छन्’, उनले भनिन्।
जयन्द्रजंगले अदालतमा आफू सात वर्षदेखि अष्ट्रेलिया बस्दै आएको र स्थायी बसोसबास (पीआर) प्राप्ति प्रक्रियामा रहेको जानकारी गराएका छन्। उनले गत वर्ष मात्र अर्ली चाइल्डहुड एजुकेसनमा डिप्लोमा गरेकाथिए ।
उनकी श्रीमतीले पारिवारिक वियोगका घटनाहरुका कारण उनको मानसिक स्वास्थ्य अवस्था राम्रो नभएको बयान दिएकी छिन्। वकिल जेम्स मुरले पनि शाहीलाई मानसिक स्वास्थ्य उपचारको आवश्यकता रहेको भन्दै अदालतमा बहस गरेका थिए।
अघिल्लो महिनादेखि प्रहरी हिरासतमा रहेका उनलाई मे ५ अर्थात आज मंगलबार फेरि अदालतमा उपस्थित गराइनेछ।