नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। सभापति थापाले चुनावी पराजयको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।
सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुधबार राजीनामा बुझाएका प्राप्त समाचारमा जनाइएको छ।
कांग्रेसले चुनावी समीक्षा गर्न शुक्रबार दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। सभापति थापाले राजीनामा दिएको पत्र पनि सार्वजनिक भएको छैन। शुक्रबारको केन्द्रीय समितिले स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा छलफल र निर्णय गर्नेछ।
फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा सभापति थापा सर्लाही ४ बाट पराजित भएका थिए। सभापति थापासहित चुनाव उठेका सबै पदाधिकारी पराजित भएका थिए।
विशेष महाधिवेशन गरेको छोटो समयमा नै कांग्रेस चुनावमा भाग लिएको थियो। निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनमा सहभागी भएको थिएन। विशेष महाधिवेशनलाई लिएर देउवा पक्ष सर्वोच्च अदालत गएको छ र मुद्दा विचाराधिन छ।
चुनावमा अधिकांश उम्मेदवारहरू पराजित भएपछि सभापति थापाको आलोचना हुँदै राजीनामा माग भइरहेको थियो। सभापति थापाले पनि उपसभापति विश्वप्रकाश शर्मा सँगको भेटमा राजीनामा दिने बताएका थिए।