इनिसा विकको न्यायका लागि प्रदर्शन : आयो यस्तो पोस्टमार्टम रिपोर्ट

इनिसा विकको न्यायका लागि प्रदर्शन : आयो यस्तो पोस्टमार्टम रिपोर्ट


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ फाल्गुन २०८२
  • 4.2K
    Shares

पोखरा,२८ फागुन २०८२।

इनिशा बिकको न्यायका लागि सुर्खेतमा निकालिएको बिरोध प्रदर्शन

सुर्खेतमा इनिसा विकको वलात्कारपछि भएको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै मृतकका परिवारले जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि बुधबार प्रदर्शन गरेका छन् । 

घटना भएको पाँच दिन बितिसक्दा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको र दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै मृतकका परिवार र आफन्तले खबरदारी गर्दै प्रदर्शन गरेका हुन् ।

प्राप्त विवरण अनुसार , गत शनिबार बिहान ६ बजे दुई घन्टा ट्यूसन पढ्न जान्छु भनेर घरबाट हिँडेकी वीरेन्द्रनगर-१ सुर्खेतकी इनिसा विक जंगलमा अचेत अवस्थामा भेटिएकी थिइन् । इनिसाको अवस्थाबारे करिब ९ बजे फोनमार्फत जानकारी पाएपछि आमा तीला विक घटना स्थल पुगेपछि उपचारका लागि इनिसालाई प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । तर अस्पताल पुगेलगत्तै चिकित्सकले इनिशालाई मृत घोषणा गरेका थिए । त्यसपछि तीलाले छोरीको बलात्कारपछि हत्या भएको भन्दै चार जनाविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

१६ वर्षिय इनिसाको बलात्कारपछि हत्याको आरोपमा अनुसन्धानका लागि चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । परिवारले कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी उजुरी फागुन २५ गते दर्ता गरिसकेको छ । बलात्कारपछि गरिको हत्या अमानविय भएको भन्दै महिला अधिकारकर्मीले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । 

मृतकका आफन्तले भने घटना भएको पाँच दिन पुग्दासमेत घटनाको कुनै विवरण नआउनुले आशंका भएको भन्दै खबरदारी गरेको बताएका छन् । घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरी अनुसान्धन भइरहेको जिल्ला प्रशासनले जनाएको छ । 

प्रदेश अस्पतालका चिकित्सकसहित भेरी अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले पोष्टमार्टम गरिएको र दोषीलाई काुननी कारबाही हुने जिल्ला प्रसासन कार्यालयले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि इनिससँगै कक्षा ११ पढ्ने अनमोल गौलीसहित चार जना पक्राउ परेका छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

गौली र इनिसा दुवै साथी रहेको प्रहरीले जनाएको छ । बिहान दुवै जनासँगै आयुर्बेद अस्पतालबाट बीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनतिर जाँदै गरेको स्थानीयले देखेको प्रहरीको प्रारम्भिक अनुसान्धनले जनाएको छ ।

यसैबीच कर्णाली प्रदेश अस्पताल, कालागाउँका तीन जना चिकित्सक सहित भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले तयार पारेको पोस्टमार्टम रिपोर्ट बुधबार आएको छ । त्यस रिपोर्टमा जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको देखिएको डा. शाक्यले जानकारी दिए । ‘पोस्टमार्टम रिर्पोटमा संवेदनशील अंग च्यातिएपछि अत्याधिक रक्तस्राव भएपछि मृत्यु भएको देखिन्छ,’ उनले भने । पाठेघरसम्म घाउको धब्बा देखिएको डा. शाक्यले बताए । ‘पीडितको संवेदनशील अंग पुरै च्यातिएर पाठेघरसम्म घाउको कालो धब्बा देखिएको छ’ डा. शाक्यले भने ।

देशभरबाट समर्थनको स्वर 

यता उक्त घटनाको निष्पक्ष छानबिन गर्न र हत्यामा संलग्नलाई कडा कारबाहीको माग गर्दै देशैभर उनको पक्षमा चर्को आवाज उठेको छ । बुधबार दिनभर पीडित परिवार, आफन्त र अधिकारकर्मीहरूले प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराए । जिल्लाका अधिकारवादी संसंस्थाले यस घटनामा चासो देखाएका छन् । उनीहरूले गम्भीर अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयलगायत निकायमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

संघीय राजधानी काठमाडौंको माइतीघरमा पनि बुधवार दिउँसो दलित समुदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै अधिकारकर्मी तथा युवाहरूले खबरदारीसहित प्रदर्शन गरेका छन् । देशभर दलितमाथि हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै पीडितहरूको न्यायका लागि उनीहरूले खबरदारीसहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूले ‘महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कडा कारबाही गर, सरकार बदलियो, समाज बदलिएन, महिला शोषणविरुद्ध एक हौं,’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले निर्वाचनपछि दलित समुदायका व्यक्तिहरू संसदमा पुगेकाले अब दलितहरूको मुद्दालाई अघि बढाउनुपर्नेमा जोड समेत दिएका छन् ।

उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । राजनीतिक दल, अधिकारकर्मीदेखि कलाकारहरूले समेत चासोका साथ न्यायका लागि आवाज उठाइरहेका छन् । उक्त घटनालाई अत्यन्त दु:खद, अमानवीय र निन्दनीय भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रतिक्रिया