पोखरा , १९ फागुन २०८२।
गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ यूएईको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ‘मिडल इस्ट’ कम्पनीमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए। आइतबार इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणलाई त्यहाँको प्रतिरक्षा प्रणालीले आकाशमै निष्क्रिय पार्ने क्रममा भएको विस्फोटमा परी दिवसको दुखद निधन भयो।

नेपाल प्रहरीका अवकाशप्राप्त अधिकृत चामबहादुर श्रेष्ठका छोरा दिवस पनि बुवाकै पदचाप पछ्याउँदै सुरक्षा क्षेत्रमा लागेका थिए। ओभरसियरको पढाइ पूरा हुन नसकेपछि उनी वैदेशिक रोजगारीमा होमिएका थिए। गत दशैँमा घर आएर फर्किएका उनी अर्को पटक छुट्टीमा आउँदा विवाह गर्ने योजनामा थिए।
विगत चार वर्षदेखि यूएईमा कार्यरत दिवसको मृत्युको खबरले यति बेला गोरखाको भीमसेन थापा गाउँपालिका-७, बोर्लाङ गाउँ नै शोकमा डुबेको छ। अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार विज्ञप्ति जारी गरेपछि मात्रै परिवारले यो अप्रत्याशित र कठोर सत्य थाहा पाएका थिए ।

घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ। अघिल्लो दिन अर्थात् शनिबार साँझसम्म ‘भिडिओ कल’ मा कुराकानी गरेको छोरा भोलिपल्टै सदाका लागि अस्ताउलान् भन्ने बुबाआमालाई थाहा हुने कुरै भएन। तर आइतबार संयुक्त अरब इमिरेट्समा इरानको ड्रोन आक्रमणमा परी श्रेष्ठको निधन भयो।
अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार एक सूचना जारी गर्दै अबुधाबीस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको पुष्टि गरिसकेको छ। उनको मृत्युबारे युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ।